काठमाडौं– नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवार भएका कृष्ण थापा र मञ्जुदेवी गुरुङले घोषणापत्र सार्वजनिक गरेका छन्।
शनिबार सार्वजनिक घोषणापत्रमा आगामी ५ वर्षभित्र पोखरालाई देशकै उत्कृत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सूचना प्रवृधि र वातावरणमैत्री महानगरपालिकामा रुपान्तरण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
'पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि मोनोरेल तथा मेट्रोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिनेछ', घोषणापत्रमा भनिएको छ।
त्यस्तै, महानगरमा पर्ने मध्यपहाडी लोकमार्गको खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला-भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ।
'महानगरको फोहोर संकलनबाट मोहर बनाउने गरी त्यसको प्रशोधनबाट ऊर्जा, निर्माण सामग्री र कम्पोस्ट मल उत्पादन गरिनेछ', घोषणापत्रमा भनिएको छ।
'पोखरा महानगर अनुसन्धान केन्द्र' स्थापना गरी खगोल विज्ञान, प्राकृतिक विज्ञान र सामाजिक विज्ञानका विविध विषयवस्तुको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाइने बताइएको छ।
'सुशासनका लागि आर्थिक पारदर्शीता भन्ने नीति कार्यान्वयन गर्न हाम्रा उम्मेदवारहरुले आवधिक रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछन्', घोषणापत्रमा भनिएको छ।
त्यस्तै, हरेक वैशाख १ गतेका दिन महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई 'महानगर माता' र 'महानगर पिता' को रुपमा सम्मान प्रदान गरिने घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।