काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ। नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नगरपालिकाको नौ वडा अध्यक्षका लागि ४८ जनाको उम्मेदवारी परेको नगर निर्वाचन कार्यालयले जनाएको छ।
वडा नं १ मा पाँच, वडा नं २ मा ६, वडा नं ३ मा ६, वडा नं ४ मा पाँच, वडा नं ५ मा चार, वडा नं ६ मा पाँच, वडा नं ७ मा चार, वडा नं ८ मा सात र वडा नं ९ मा ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रञ्जु गौतमले बताइन्। यसैगरी महिला वडा सदस्यमा ३६, दलित महिला वडा सदस्यमा ३३ र खुला सदस्यमा ७२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारमाथि कुनै उजुरी भए दिनका लागि तोकिएको मङ्गलबार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी दर्ता नभएको पनि उनले बताइन्।
कूल ३३ हजार ८९८ मतदाता रहेको नगरपालिकामा केन्द्रीय नेतृत्वले सहमति गरेअनुसारको गठबन्धन बनेको छैन। विसं २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा वडासहित कार्यपालिकामा समेत बहुमत जितेको नेपाली कांग्रेस एक्लै निर्वाचनमा होमिएको छ। कांग्रेसको नगर प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा विद्रोही उम्मेदवार छन्।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले भने संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले, राप्रपालगायत दलले पनि नगरपालिकामा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यतालिकाअनुसार आज र उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अवधि तोकिएको छ।
यसअघिको निर्वाचनबाट कांग्रेसका सन्तोष चालिसे नगरप्रमुख र शान्ति नेपाल उपप्रमुखमा विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।