काठमाडौं– आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ। यातायात सेवा कार्यालय चितवनले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ। १५ दिनभित्र परेका प्रस्तावको अध्ययन गरी काम अघि बढाइने उनले बताए। जिल्लामा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र दिन लागिएको हो।
कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवश्यक पर्ने परीक्षास्थल र सवारीसाधन उपलब्ध गराएवापत परीक्षार्थीसँग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो। प्रयोगात्मक परीक्षास्थल भरतपुर महानगरपालिका वा चितवन जिल्लाअन्तर्गत पर्ने नगरपालिकाभित्र हुनुपर्नेछ।
प्रयोगात्मकस्थल संवेदनशील स्थान अस्पताल, विमानस्थल, शिक्षण संस्था, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय राजमार्ग, मन्दिरलगायत क्षेत्रबाट कम्तीमा २०० मिटर टाढा हुनुपर्ने शर्माले बताए। ‘प्रदेश सरकारको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल कार्यविधि, २०७८ मा उल्लेख भएबमोजिम नै छनोट गरिनेछ,’ उनले भने। प्राविधिक प्रस्तावमा उत्तीर्ण भएको मात्र आर्थिक प्रस्ताव गरिने उनले जानकारी दिए।
जिल्लामा धेरै सवारीसाधन गुड्ने भए पनि सवारी अनुमतिपत्र लिन हेटौंडा वा काठमाडौं पुग्नुपर्ने बाध्यता छ। हाल बागमती प्रदेशमा हेटौंडामा एक ठाउँबाट र काठमाडौंमा चार ठाउँबाट सवारी चालक अनुमतिपत्र दिइँदै आएको छ।
प्रदेशमा झण्डै १८ लाख व्यक्तिसँग सवारी चालक अनुमतिपत्र भएको प्रारम्भिक तथ्याङ्क छ । शर्माका अनुसार वार्षिक एक लाख नयाँ अनुमतिपत्र वितरण गरिँदै आएको छ। चितवनमा सुरुमा सातामा एकपटक परीक्षा लिने गरी तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।