काठमाडौं- आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औंल्याएको हो।
महाशाखाका अनुसार, आज दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ भने देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाका साथै पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
त्यसैगरी मंगलबार दिउँसो सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साँझ पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै देशको पूर्व र पश्चिम क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बुधबार पनि देशभरि नै सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, सोही दिन रातको समयमा पनि देशभरि नै बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै, मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंमा १८.३ मिलिमिटर वर्षा भएको छ। पोखरामा ७०, धनगढीमा १५, डडेल्धुरामा पाँच र ओखलढुंगामा तीन मिलिमिटर वर्षा भएको छ। आज काठमाडौंको तापक्रम अधिकतम २७.८ र न्यूनतम २०.५ डिग्री सेल्सियस रहेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।