काठमाडौं- कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकी उम्मेदवार बनेकी सिर्जना सिंहले गत चैत २ गते सामाजिक सञ्जाल ट्विटरमा लेखिन्, 'मेयरको धेरै चर्चा भयो.. काठमान्डुमा धेरै मेयर भए.. पिएल सिंहको पालामा मात्र केही सुधार भए। अब बाँकी सुधार गर्न महिला मेयरको माग राखौं..पुरूष मेयर धेरै हेर्यौं, अब महिला मेयर हेरौं-रोजौँ..सोच बदलौँ..काठमान्डुको मुहार बदलौं.. व्यवस्थित सहर बनाऔँ.. जय काठमान्डु ..जय नेपाल।'
ट्विटरमा सक्रिय सिर्जनाले यो पोष्ट त्यतिबेला गरेकी थिइन्, जतिबेला उनी 'मेयरको रेस'मै थिइनन्। एक महिनाको राजनीतिक उतारचढावले सिंहलाई मेयर बन्ने मूलबाटोमा पुर्याएको छ। पिएल सिंहपछि सुधारकी सूत्रधार 'सिर्जना सिंह' बन्ने अवसरको निकट ल्याइपुर्याएको छ।
सक्रिय राजनीतिबाट टाढा रहेकी सिंहको यो पोष्टले त्यो समय केही संकेत त गर्थ्यो। तर, धेरैले उनी राजनीतिमा आउन खोजेको भन्दा पनि काठमाडौंकी वर्तमान उपमेयर हरिप्रभा खड्गीका पक्षमा मत जाहेर गरेको रुपमा बुझे।
चैत १४ गते नेपाल महिला संघ काठमाडौंले सिर्जना सिंहलाई मेयरमा उठ्न अनुरोध गर्दै उमेदवार बनाउन पार्टीमा लबिइङ गर्ने निर्णय गर्यो। कम्तिमा ३३ प्रतिशत अध्यक्ष र प्रमुख तथा वडाध्यक्षमा महिलालाई नै अघि सार्नुपर्ने निर्णय गर्यो।
उक्त निर्णय लिएर सिंह निवास चाक्सीबारी पुगेका महिला संघका नेताहरुलाई सिंहले आफू राजनीतिबाट ओझेलमा रहेकाले आरोप बेहोर्नुपर्ने संकेत गरिन्। निर्णयको स्वागत गर्न हिचकिचाइन्।
त्यही निर्णयले सिर्जनालाई काठमाडौंको मेयरको दाबेदारका रुपमा कांग्रेसवृत्तभित्र र बाहिर चर्चा दिलायो। २०३६ सालमै बहुदललाई जिताउन गृहजिल्ला गोर्खा पुगेकी राजनीतिक कार्यकर्ता सिंहमा फेरि सक्रिय राजनीतिमा आउने मोह पलायो।
२०४२ साल फागुनमा गणेशमान सिंह पुत्र कांग्रेस नेता प्रकाशमान सिंहसँग विवाह गरेपछि राजनीतिमा आफूलाई पर्दापछाडि धकेलेकी थिइन्, उनले। नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म प्रकाशमान सिंहको राजनीतिक उचाइमा इँट-गाह्रो लगाउनै सक्रिय भइन्। उक्त महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका प्रकाशमानले जितेनन्। दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाई समर्थन गरे। प्रकाशमान राजनीतिक रुपमा 'रिटायर्ड'को संघारमा रहेको समयमा सिर्जना सक्रिय हुने संयोग जुरेको छ।
सिर्जनाले २०३५–२०३८ सम्म महाबौद्ध क्याम्पसमा नेपाल विद्यार्थी संघकी सचिवदेखि इकाइ सभापति हुँदाको जोश फेरि देखाउनुपर्ने भएको छ। २०३६ की महिला बहुदलीय प्रचार प्रसार समिति जिल्ला गोरखा अध्यक्षजस्तै गरी निडर हुनुपर्ने भएको छ र २०३९ सालकी प्रतिष्पर्धामा आफूलाई विजेता बनाएर छाड्ने सिर्जना बनाउनुपर्ने भएको छ। उनले त्यतिबेला शंकरदेव क्याम्पसको कोषाध्यक्षमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई हराएकी थिइन्।
२०४६ सालको जनअन्दोलनका लागि उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेलेको भूमिका, २०३७ सालमा बीपी कोइराला स्वास्थ्यउपचारको लागि चन्दा संकलन गर्ने क्रममा पटक-पटक पक्राउ परेको, २०३७ सालमै नेविसंघ दाङ सम्मेलन समितिमा रही काम गरेको र २०५४ देखि निरन्तर नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकार रही काम गरेको मूल्यांकन अहिले भएको छ।
राजनीतिक परिवारमा भएको विवाहका कारण देखिने ठाउँमा उभ्याउन नसकेकी उनले पार्श्वमा रहेर विभिन्न भूमिका निर्वाह गरेकी छिन्। आफूलाई सधैं व्यवस्थापकीय भूमिकामा राखेकी सिंहलाई यसपल्ट सत्ता गठबन्धनले देशकै राजधानीको जिम्मा दिएको छ।
तर, उनी चुनौतीमुक्त छैनन्। पहिलो चुनौती उनले आफ्नै नेता-कार्यकर्ताबाट झेलेकी छिन्। उनीहरु श्रीमान प्रकाशमानका कारण टिकट हत्याएको टिप्पणी गरिरहेका छन्। जसलाई उनले आफ्नो विगत बताएर प्रमाणित गर्नुपरेको छ।
दोस्रो चुनौती अन्य दलका उम्मेदवार भइहाले। भोटको राजनीति गर्नेबारे एक महिनाअघिसम्म नसोचेकी उनलाई मतदाताले कसरी लिन्छन्? अन्य दलहरुले पनि काठमाडौंमा कमजोर उम्मेदवार उठाएका छैनन्।
यी चुनौती पार गर्न सक्षम हुँदा उनीमाथि अर्को चुनौती हुनेछ। आफैंले परिवर्तन भएको महसुस नगरेको काठमाडौं परिवर्तन गर्ने। किनभने उनले भनिसकेकी छिन्- पिएल सिंहपछि काठमाडौं महानगरमा सुधार हुन सकेका छैनन्। आफैंले आइडलका रुपमा प्रस्तुत गरेका पिएल सिंहको अर्को भर्सन 'सिर्जना सिंह' उनी बन्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।