काठमाडौं– बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार पनि देशैभर उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ।
७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यका लागि निर्वाचन हुन लागेको हो। ७५३ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको काम भइरहेको छ।
आइतबार र सोमबार आयोगले दुई दिन मनोनयन दर्ताको समय राखेको छ। सोमबार मध्याह्न १२ बजेसम्मको तथ्यांकअनुसार देशभर १६ हजार ५६८ उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म प्रमुखमा ७६८, उपप्रमुखमा ३८३, अध्यक्षमा ६१४, उपाध्यक्षमा ३३४, वडाअध्यक्षमा ४ हजार ४३९, महिला सदस्यमा २ हजार ५४१, दलित महिला सदस्यमा २ हजार ५९ र सदस्यमा ५ हजार ४३० को उम्मेदवारी परेको छ। सबैभन्दा धेरै उम्मेदवारी मधेस प्रदेशमा परेको छ। त्यहाँ अहिलेसम्म प्रमुख देखि सदस्यसम्म ५ हजार ४९ ले उम्मेदवारी दिएका छन्।
प्रदेश १ मा २ हजार ९९२, बागमतीमा २ हजार २७०, गण्डकी प्रदेशमा १ हजार ३९, लुम्बिनी प्रदेशमा ३ हजार ५३२, कर्णाली प्रदेशमा ६४९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ३७ को उम्मेदवारी परेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।