काठमाडौं– कैलालीमा सत्तारुढ तीन दलबीच चुनावी तालमेल हुने भएको छ। यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएको हो।
दलहरुबीच स्थानीय तहमा तालमेल हुने सहमति भएको छ। बैठकको छलफल सहमतिअनुसार धनगढी उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने भएको छ । त्यस्तै टिकापुर, लम्कीचुहा, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने भएको छ।
यस्तै माओवादी केन्द्रले चार पालिका पाउने भएको छ । जसअनुसार गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका पाउने सहमति भएको छ। त्यस्तै प्रमुखमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ।
सत्ता गठबन्धनले यसअघिको स्थानीय तहमा एमालेले जितेका ७ पालिका भागबन्डा गरेको हो। कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा ४ पालिका जितेको थियो । माओवादी २ पालिका जितेको थियो। त्यो जितेको पालिका बाहेक कांग्रेस अब थप ३ पालिका र माओवादीले थप २ पालिका पाउने भएको छ।
कैलालीमा एकीकृत समाजवादीका कोही पनि प्रमुख थिएनन्। एकीकृत समाजवादीले भने २ पालिका पाउने भएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।