काठमाडौं– आसन्न स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा माओवादी केन्द्र र नेकपा समाजवादीबीच तालमेल हुने भएको छ।
दुबै दलका शीर्ष नेताहरुबीच तीन दिनसम्म निरन्तर चलेको छलफलपछि जिल्लाका नौ वटै स्थानीय तहमा वडा सदस्य तहसम्म नै गठबन्धन गरेर जाने सहमति जुटेको हो।
नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रचार प्रसार समिति प्रमुख गोकर्ण भट्टले दिएको जानकारी अनुसार नेपाली कांग्रेससहित गठबन्धन गर्ने प्रयास असफल भएपछि नेकपा एकीकृत समाजवादीसँग तालमेलका लागि छलफल भएको थियो।
सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले तय गरेका मापदण्डमा टेकेर स्थानीय अवस्था, निर्वाचनमा विजय हासिल गर्ने अनुकुलता र अन्य विविध पक्षलाई समेत ध्यानमा राखेर वडातहसम्म नै गठबन्धन गर्ने सहमति जुटेको उनले बताए।
दुबै दलबीच भएको सहमति अनुसार, नेकपा माओवादी केन्द्रले नौ स्थानीय तहमध्ये ५ तहमा प्रमुख र ६ तहमा उपप्रमुख लिने सहमति भएको छ। यसैगरी नेकपा एकीकृत समाजवादीले चार तहमा प्रमुख र ३ तहमा उपप्रमुख पाउने सहमति जुटेको छ।
जिल्लाका बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, बेल्डाँडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा नेकपा माओवादीले प्रमुख पाउनेछ भने नेकपा एकीकृत समाजवादीले पुनर्वास नगरपालिका, वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा प्रमुखमा उम्मेदवारी दिने छ।
उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रले बेल्डाँडी र लालझाडी तथा एकीकृत समाजवादीले पाएका अन्य सबै पालिकामा समेत उम्मेदवारी दिने सहमति जुटेको छ।
सत्तारुढ गठन्धनका दलहरुबीच सहमतिको प्रयास भएपनि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई दुई दुई वटा स्थानीय तह मात्र दिने भएपछि सहमति जुटेको थिए।
कांग्रेससँग सहमति नजुटेपछि नेकपा माओवादी केन्द्रका प्रदेश र जिल्लास्तरका नेताहरुले एकीकृत समाजवादीसँग वार्ता शुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।