काठमाडौं– स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएपछि दलका गतिविधि बढेका छन् भने उम्मेदवारको चर्चा पनि चुलिएको छ। कुन दलबाट को र कहाँ उम्मेदवार बन्दैछन् भन्ने चासो आम जनतामा पनि देखिन्छ। खासगरी महानगर, उपमहानगर र ठूला शहर रहेका नगरपालिकाबारे चासो छ। त्यसैगरी, दलका शीर्ष नेताहरूको गृहजिल्लामा बनेका गठबन्धन र उम्मेदवारबारे पनि चर्चा छ।
केन्द्रमा सत्ता गठबन्धनले चुनावी तालमेलको निर्णय गरे पनि कतिपय स्थानमा भागबन्डा नहुँदा एक्लाएक्लै निर्वाचनमा जाने अवस्था आएको छ। तालमेलमा नमिले ‘मित्रवत् प्रतिश्पर्धा’ गर्ने तर, अन्य पार्टीसँग नमिल्ने सहमति शीर्ष तहमा भएको छ। कतै कांग्रेस–एमाले र कतै एमाले–माओवादी केन्द्रबीच पनि तालमेल भएको छ।
रुकुमको सिस्ने गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको छ। त्यहाँ माओवादी एक्लै चुनाव लड्दैछ। २०७४ सालको स्थानीय निर्वाचनमा पनि एमाले–कांग्रेस गठबन्धनविरुद्ध एक्लै प्रतिश्पर्धा गरेर माओवादी विजयी भएको थियो।
यता, ललितपुर महानगरपालिकामा एकीकृत समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको छ। त्यसैगरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा पूर्व जिल्ला सभापति कर्ण मल्लको समूहले बीपी कांग्रेसका तर्फबाट एमालेसँग तालमेल गरेको छ।
चुनाव नजिकिँदै गर्दा देखिएका यस्ता रोचक घटनाले आममानिसमा झनै चासो बढाएको छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन पत्र दर्ता गर्ने मिति तोके पनि ठूला दलले अधिकांश स्थानमा अझै उम्मेदवारी दर्ता गरेका छैनन्। कतिपय स्थानमा उम्मेदवार तय हुन बाँकी छ भने कतिपयमा निश्चित भएर पनि बागीलाई रोक्न अन्तिम समयमा मात्र उम्मेदवारी दिने तयारीमा शीर्ष दल छन्।
जनताले आफ्नो घर आँगनको जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न अब १८ दिन बाँकी छ। यस्तो बेला सर्वसाधारणको चासो र बहसको विषय बन्नु स्वाभाविक हो। तर, जोरपाटी चोकको धुलाम्मे सडक किनारामा बसेर महिलाका लुगा बेच्ने ७० वर्षीय अंगुरी खातुनलाई निर्वाचनबारे धेरै चासो छैन। भोट भने हाल्न जाने योजनामा छिन्।
अंगुरी खातुन
उनको घर इनरुवा हो। मतदानका लागि इनरुवा जाने उनको योजना छ। उनी भन्छिन्, ‘आफूले पढेको छैन, केही जान्दिनँ। को कस्तो हो, राम्रो नराम्रो के हो भन्ने छोराछोरी जान्दछन्।’ राम्रो काम गर्ने मान्छेलाई मत दिने उनी बताउँछिन्।
जोरपाटी चोकमै लुगा सिलाइको काम गर्ने सिन्धुलीका बलबहादुर विकलाई आउँदै गरेको स्थानीय निर्वाचनबारे राम्रोसँग जानकारी छ। आफ्नो मताधिकारको प्रयोग गर्न जसरी भए पनि गाउँ जाने उनले बताए। उनी भन्छन्, ‘विकास गर्ने र गाउँमै रोजगारी दिन सक्ने मान्छेलाई हेरेर भोट दिन्छु।’ उनी विस्तारै परिवर्तन र विकास हुँदै जाने कुरामा आशावादी छन्।
बलबहादुर विक
नारायणटार पिपलबोट छेउ ठेलागाडामा लुगा बेच्ने सावित्री भने चुनावबारे सोध्नेबित्तिकै आक्रोशित भइन्। ‘जतिसुकै चुनाव आए पनि, जोसुकै नेता आए पनि आफ्नो जीवन परिवर्तन हुने हैन, त्यसैले यस्तो कुरा मसँग नगर्नुस्, नेतासँग गएर गर्नुहोस्,’ उनले भनिन्। उनले आफ्नो पूरा नाम र ठेगाना बताउन पनि मानिनन्। आफूले भोट नहाल्ने उनले बताएन्।
ठेलागाडामा नारायणटार क्षेत्रमा फलफूल बेच्ने जितपुर, बारा घर भएका २७ वर्षीय राजु कुमारले चुनावमा घर फर्किने बताए। उनले भने, ‘चुनावमा भोट हाल्न घर पनि जाने, परिवार पनि भेटेर आउने हो। मजस्तै श्रम गरेर खानेहरुका लागि आफ्नै ठाउँमै रोजगारी दिनेलाई मत दिन्छु।’ तर, अहिलेसम्म जितेकाहरूले राम्रोसँग काम नगरिदिँदा दुःख पाएको उनको गुनासो थियो।
आप्त वचन
माकलबारी प्रवेश गर्ने गेटछेउमै प्रचण्ड गर्मीमा साइकलमा फलफूल बेचिरहेका आप्त वचन पनि नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनबारे जानकार छ। मलङ्गवा घर बताउने वचनले आफ्नो ठाउँमा को उम्मेदवार बन्ने हो भन्ने चासोका साथ हेरिरहेका छन्। उनी भन्छन्, ‘हामीहरू जस्ताको गरिबी हटाउने नेता चाहियो, विकास पनि गरोस्।’ राम्रो नेता भए विकास हुनेमा उनी आशावादी छन्।
दैनिक मजदुरी गरेर गुजारा चलाउने आम नागरिक पनि यो निर्वाचनमा आशावादी छन्। ‘गाउँको सिंहदरबार’मा राम्रो नेतृत्व आए गाउँमै रोजगारीको अवसर आउने, शिक्षा र स्वास्थ्य सुलभ हुने उनीहरूको आशा छ। कोही भने नेताहरुले झूटा आश्वासन दिने भन्दै निराश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।