काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको आदेशलाई चुनौती दिएका छन्।
जुम्लामा अनसनरत डा केसीका माग सम्बोधन र जीवनरक्षाका लागि ध्यानाकर्षण गराउन आइतबार साँझ बालुवाटार पुगेका चिकित्सक संघको टोलीसमक्ष ओलीले सर्वोच्चको आदेशलाई नै चुनौती दिएका हुन्।
'माइतीघरलार्इ निषेधित क्षेत्र बनाउनुपर्छ, त्यो हुन्छ। सर्वोच्च अदालतले भने पनि माइतीघर निषेधित हुन्छ,' उनले भने, 'यसो मन बहलाउने सुन्दर ठाउँ छ, दुःख पर्दा दियो बाल्ने ठाउँ छ, सर्वोच्च अदालत नै त्यहीँ छ, त्यहाँ नाराबाजी गर्न दिन्छु त मैले?'
सरकारले साउन १ गतेदेखि लागू हुनेगरी माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि चौतर्फी विरोध भएको थियो। असार २२ गते सर्वोच्च अदालतले माइतीघर लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरकालीन आदेश जारी गरिसकेको छ। तर अदालतको यो आदेशलाई नै प्रधानमन्त्री ओलीले चुनौती दिँदै निषेधित क्षेत्र नै रहने अडान राखेका हुन्।
टोलीसँगको भेटमा प्रधानमन्त्रीले डा गोविन्द केसीलाई खाना खुवाएर काठमाडौं ल्याउन आग्रह गरेका थिए। कोही व्यक्ति अनसन बसेको भरमा वा आन्दोलनको चेतावनी दिँदैमा नडराउने उनले बताए।
'उहाँसँग काठमाडौंमा वार्ता हुन्छ। उहाँलाई खाना खुवाएर काठमाडौंमा ल्याउनुहोस्। यसरी आन्दोलनका भरमा यो गर वा त्यो गर भनेर हामी ब्याक हुने छैनौँ,' प्रधानमन्त्रीले भनेका थिए, 'तपाईंहरुले अस्पताल बन्द गर्छु भनेर चेतावनी दिएको भरमा डराउँदैनौँ पनि। अस्पतालको सेवा तपाईंहरुले बन्द गर्न पाउनु हुँदैन। कानुनले पनि बन्द गर्न दिँदैन। सरकार त्यसको सामना गर्न तयार छ। कानुन अनुसार अगाडि बढ्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।