काठमाडौं– नेकपा एमालेले चितवनका सबै स्थानीय तहमा प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ।
भरतपुर महानगरपालिका र माडी नगरपालिकाको उपप्रमुखमा राप्रपाले उम्मेदवारी दिने भएको छ। एमालेको शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। एमालेले राप्ती नगरपालिका प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिका प्रमुखमा लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेतीलाई उमेदवार बनाउने निर्णय गरेको छ।
रत्ननगर नगरपालिका प्रमुखमा विमला दुवाडी र उपप्रमुखमा यादव पाठक र कालिका नगरपालिका प्रमुखमा विनोद रेग्मी र उपप्रमुखमा विमला लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ। माडी नगरपालिकाको प्रमुखमा एमालेले ताराकाजी कुमारी महतोलाई उठाउने भएको छ।
इच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उठाउने एमालेले निर्णय गरेको छ। नेकपा एमाले चितवनले आज सबै स्थानीय तहका वडाध्यक्ष र सदस्यका उम्मेदवारको टुंगो लगाउने जनाएको छ।
राप्रपाले पाएको भरतपुर महानगरको उपप्रमुख र माडी नगरपालिकाको उपप्रमुखको भने टुंगो लागिसकेको छैन। त्यसका लागि राप्रपा भरतपुर आन्तरिक छलफलमा जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।