काठमाडौं– आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयनपत्र दर्ता कार्यक्रम रहेको छ। यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको आज र भोलि मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकने आयोगले जनाएको छ। दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ।
मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ।
वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।