काठमाडौं- जुम्लामा १० दिनदेखि अनसनरत डा गोविन्द केसीसँग प्रधानमन्त्री केपी ओलीले फोनमा वार्ता गर्ने चाहना व्यक्त गरेका छन्। यसको व्यवस्था मिलाइदिन प्रधानमन्त्री ओलीको सचिवालयले नेपाल चिकित्सक संघसँग आग्रह गरेको छ।
मंगलबार बिहान सचिवालयबाट संघका पदाधिकारीलाई फोन गरेर कुराकानीका लागि वातावरण बनाउन भनिएको हो।
संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीका सचिवालयबाट कुराकानीको पहल गर्न आग्रह गरिएको पुष्टि गरे। संघमार्फत डा केसीसँग प्रधामन्त्रीले कुरा गर्न खोजेको उनले जानकारी दिए।
संघका तर्फबाट डा केसीको अनसनलाई सहयोग र समर्थन गर्न जुम्ला पुगेका डा प्रकाश बुढाथोकीका अनुसार प्रधानमन्त्रीले डा केसीसँग फोनमा वार्ता गर्न चाहेका हुन्। उनले भने, ‘प्रधानमन्त्रीज्युले डा केसीसँग कुरा गर्ने चाहना राखेको सूचना हामीलाई आएको छ। हामीले सरलाई कुराकानीका लागि मनाइरहेका छौं।’ माग सम्बोधन नभई सरकारका कुनै व्यक्तिसँग कुरा नगर्ने डा केसीको अडान छ। तर, प्रधानमन्त्री ओलीसँग कुराकानी नगर्दा गलत सन्देश जाने भन्दै डा केसीलाई मनाइएको छ।
सोमबार संघको टोलीले प्रधानमन्त्री भेटी डा केसीका माग सम्बोधन गरी अनसनको अन्त्य नगरिएको कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो। उनको स्वास्थ्य अवस्था खस्किँदै गएको भन्दै सरकारलाई ७२ घन्टाभित्र समाधान खोज्न ज्ञापनपत्र बुझाएको थियो।
सरकारले ७२ घन्टाभित्र समाधान नखोजे इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी संघले दिएको छ। डा केसीका मागका विषयमा प्रधानमन्त्री ओली सकारात्मक नदेखिएको भन्दै संघले आन्दोलनको तयारी थालेको बुझिएको छ।
चिकित्सकहरु आन्दोलित हुनुअघि नै समाधान खोज्ने प्रधानमन्त्रीको निजी सचिवालयले पहल थालेको बुझिएको छ।
अवस्था गम्भीर भए संघले रेस्क्यु गर्ने
डा केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो छ। सोमबारबाट थोरै उठ्दा पनि मुटुको धड्कन बढ्ने र चक्कर आउने भइरहेको डा बुढाथोकीले बताए। १५ पल्टको अनसन र घर्किंदो उमेरका कारण उनको स्वास्थ्यमा तीव्र रुपमा खराबी देखिन थालेको उनी बताउँछन्।
डा केसीको स्वास्थ्य उपचार गम्भीर हुँदै जाँदा संघले ‘रेस्क्यु’ गर्ने तयारी गरेको छ । ‘सरकारले माग सम्बोधन गर्नुअघि नै स्वास्थ्य अवस्था जोखिमपूर्ण देखियो भने हामीले नै ‘रेस्क्यु’ गर्ने तयारी गरेका छौं। यसबारे हामीले डा केसीलाई जानकारी गराइसकेका छौं,’ उनले भने।
डा केसी सरकारी खर्चमा भने ‘रेस्क्यु’ नहोस् भन्ने चाहन्छन्। यही कारण खर्चको बन्दोबस्त समेत संघले गर्ने जानकारी डा केसीलाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।