काठमाडौं– पुनः गाउँपालिकाको अध्यक्ष पदमा उठ्न भन्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पदबाट राजीनामा दिएका छन्। उनले निर्वाचन आयोगको उक्त आचारसंहिता कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्चमा मुद्दासमेत दायर गरेका थिए।
उनको रिटमा सुरुमा सर्वोच्चले एकल इजलासबाट अन्तरिम आदेश जारी गरेको थियो। तर, संयुक्त इजलासले पछि उक्त रिट खारेज हुने फैसला सुनाएको थियो।
शेर्पाले हेलम्बु गाउँपालिकामा ५ वर्षको कार्यकालमा आफूलाई सहयोग गर्नु हुने सम्पूर्ण हेलम्बुवासी, सबै वडाका अध्यक्ष, सदस्य, पालिका सदस्य एवं सबै राजनीतिक दलप्रति धन्यवाद दिएका छन्।
‘मैले गाउँपालिका अध्यक्षको हैसियतमा कार्य गर्दै गर्दा आफ्नो पारिवारिक समस्यालाई समेत बेवास्ता गर्दै गरेका कार्यले कसैलाई राम्रो त कसैलाई केही नराम्रो भएको भए पनि त्यो समाजको हितका लागि भएको हो र मेरो व्यक्तिगत स्वार्थको लागि होइन भनी बुझिदिनुहोला,’ उनले राजीनामासँगै लेखेका छन्, ‘आजसम्म हेलम्बुमा भएका सबै कार्यहरु तपाईहरुको साथ र सहयोगबाट नै सम्भव भएको हो। मेरो यो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिँदै आजका मितिदेखि मैले गाउँपालिकाको अध्यक्षको पदबाट राजीनामा दिएको छु।’
आसन्न स्थानीय तहको निर्वाचनमा हजुरहरुको साथ, सल्लाह र सहयोग बमोजिम पुनः गाउँपालिकाको अध्यक्षको लागि उम्मेद्वारी दिने निर्णय गरेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।