काठमाडौं– स्थानीय तहको निर्वाचन नजिकिँँदै गर्दा नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ। नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय खोलेर चुनावी ब्यानर र चुनाव चिह्नसहितका झण्डा टोल–टोलमा राखेका छन्।
खासगरी नेपालगञ्जको त्रिभुवनचोक पोष्टर र ब्यानर प्रदर्शन गर्नेे चोक बनेको छ। चाडपर्वका शुभकामनादेखि पार्टीगत चुनावी प्रचारका ब्यानर र तुलले चोक भरिभराउ भएको छ। नेपालगञ्जका भित्री बजारमा पनि तुल, ब्यानर लगाउने राजनीतिक दलबीच तछाडमछाड नै देखिएको छ।
वडास्तरमा उम्मेदवार छनोट भएका नेता घरदैलो अभियानमा खटिएका छन्। नेपालगञ्जमा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख, उपप्रमुख र केही वडामा उम्मेदवार सर्वसम्मत सिफारिस भएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए।
सत्तारुढ पाँच दलीय गठबन्धनको भागबण्डामा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीलाई परेको छ। नगरप्रमुख आफ्नो पार्टीको हुने भएपछि कांगे्रसका कार्यकर्ता उत्साहित देखिएका छन्।
भागवण्डामा आफ्नो पार्टीले प्रमुख नपाएको भन्दै जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)का स्थानीय कमिटीले असन्तुष्टि प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।