काठमाडौं– निर्वाचन आयोगले देशभरका ७५३ वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ।
देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए। ‘मुख्य निर्वाचन अधिकृतहरूले आ–आफ्नो क्षेत्रअन्तर्गत रहेका स्थानीय तहमा कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ,’उनले भने,‘त्यसपछि त्यहाँ खटिने कर्मचारीको पनि छनोट गरेर पठाइनेछ।’
प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा ९/१० जना कर्मचारीको जनशक्ति रहने गरी खटाउने तयारी गरिएको छ। त्यस्तै ती निर्वाचन अधिकृतका कार्यालयमा सुरक्षाका लागि सुरक्षाकर्मीहरु पनि खटाइने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।
ती निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत तोक्ने काम समेत गरिनेछ। उनीहरुलाई निर्वाचन आचार संहिता अनुगमनको समेत जिम्मेवारी दिने आयोगले जनाएको छ
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेको छ। उम्मेदवारको मनोनयन दर्ताको समय नजिकिएसँगै राजनीतिक दलहरुले उम्मेदवार चयनको कामलाई पनि तीव्र बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।