काठमाडौं– नेपाली कांग्रेसले महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाको भ्रमण रोकेर सरकारले अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई असर पुर्याएको टिप्पणी गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा अपहरणको शैलीमा कोइरालाको दुर्व्यवहार गरिएको जनाउँदै घटनालाई गम्भीरतापूर्वक लिएको उल्लेख छ।
कोइरालाप्रति गरिएको व्यवहारको निन्दा गर्दै कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘क्यानाडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी दिनमा नेपालमै विश्व सम्मेलन गर्ने तयारीका लागि आवश्यक भूमिका निर्वाह गर्ने कार्यक्रम देशकै लागि महत्वपूर्ण थियो।’
सरकारले कार्यक्रमको महत्वलाई बुझ्न नसकी आफ्नो अनुदार चरित्र थप प्रस्ट्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कांग्रेसले प्राज्ञिक क्षेत्रसँगै आम नागरिकसँगको व्यवहार र शैलीलाई सरकारले नसच्याए आगामी दिनमा सरकारले झनै चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।