काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ।
आइतबार बसेको अध्यक्ष मण्डलको बैठकले सोमबार साढे ११ बजे बैठक बोलाएको हो। बैठकमा संसदीय दलको विधानबारे छलफल हुने बताइएको छ।
'भोलि संसदीय दलको बैठकमा त्यसको विधानबारे छलफल गरिन्छ', राजपाका एकजना अध्यक्ष शरतसिंह भण्डारीले भने, 'त्यसपछि संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।'
बैठकले पार्टीको भ्रातृ संगठनको नामकरणबारे पनि टुंगो लगाएको छ।
'जुन क्षेत्रको भ्रातृ संगठन हो, त्यसको अगाडि राष्ट्रिय र पछाडि संघ जोडिने भएको छ', भण्डारीले भने।
बैठकले जिल्ला अध्यक्ष मण्डललाई पनि पूर्णता दिने निर्णय गरेको छ। ६ वटा पार्टी एक भएर बनेको राजपामा केन्द्रमा जस्तै जिल्लामा पनि अध्यक्ष मण्डल रहने व्यवस्था थियो। तर, कतिपय जिल्लामा त्यसले पूर्णता पाएको थिएन।
बैठकले पूर्णरुपमा निकास ननिकालिसकेको अर्का नेताले बताएका छन्।
'महाधिवेशनसँग जोडिएका विषयमा अझै सहमति बन्न सकेको छैन', ती नेताले भने, 'भोलि वा पर्सिसम्म सहमति जुटाएर राजनीतिक समिति बैठकमा उठेका विषयहरुको निर्णय हुन्छ। फरक-फरक धारबाट उठेका विषयमा सहमति जुटाएर निर्णय गर्ने सहमति भएको छ।'
राजपाको तीन दिनसम्म बसेको राजनीतिक समितिको बैठक कुनै निर्णय नभई शनिबार सकिएको थियो। बैठकले निर्णय जुटाउने जिम्मेवारी अध्यक्ष मण्डललाई दिए अनुसार आइतबार अध्यक्ष मण्डलको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।