बागलुङ– बीस जनाको ज्यान जाने गरी मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिप्पर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
टिप्पर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण भने खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए। दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ जना घाइते छन्। ‘टिप्परले ३२ जना मजदूरसहित बालुवा पनि बोकेको पाइएको छ’, प्रनाउ खड्काले भने,‘ओभरलोड र तीव्र गतिले दुर्घटना भएको प्राररम्भिक अनुसन्धानले देखाएको छ।’
टिप्पर चालक धादिङका २३ वर्षीय सुजन घलानको दुर्घटनास्थलमै मृत्यु भएको थियो। कच्ची सडक र कम उमेरका चालकमा हुने अनुभवको कमीले पनि दुर्घटना निम्तिएको हुन सक्ने प्रहरीको अनुमान छ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पर्ने बेनी–कोरला सडक खण्डको निर्माणमा खटिएका रोल्पा, दाङ, कैलालीलगायत जिल्लाका मजदूरले दुर्घटनामा ज्यान गुमाएका छन्।
सबैभन्दा बढी रोल्पाका ९ मजदूरको उक्त दुर्घटनामा ज्यान गएको छ। मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्ष उमेर समुहका छन्। सडक निर्माणको जिम्मा लिएको बिरुवा कन्सट्रक्सनमार्फत मजदूर कामका लागि मुस्ताङ पुगेका थिए।
जाडोयाम सकिएपछि मजदूरहरु गत फागुनपछि मुस्ताङ पुगेको जनाइएको छ। दुर्घटनामा घाइते १२ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सबैको शव नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार पोखरा पुर्याई परिवारलाई जिम्मा लगाइएको छ। रोल्पा र दाङका शव सेनाको हेलिकप्टरबाटै लगिएको थियो।
बा२क २२१९ नम्बरको टिप्पर सडकदेखि झण्डै ५० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किमीको दूरीमा भएको हुँदा तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ उत्पन्न भएको थियो। ५ जना गम्भीर घाइतेको उपचारका लागि पोखरा पठाउने तयारी हुँदाहुँदै दुर्घटनास्थलमै मृत्यु भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।