काठमाडौं– नेपाल प्रेस युनियनले सञ्चार सम्वद्ध संस्थाहरुमा प्रक्रियागत ढंगले नियुक्त भएकाहरुलाई वर्तमान सरकारले जवर्जस्ती हटाएको आरोप लगाएको छ।
प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज एक विज्ञप्ति जारी गर्दै ‘नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकाहरुलाई दवाव दिई जिम्मेवारी छोड्न बाध्य बनाउने काम समेत भएको’उल्लेख गरेका छन्।
‘सरकारले आँफैले बनाएको कार्यविधी अन्तर्गत विभिन्न प्रक्रिया पार गरि नियुक्ति भएकाहरुलाई राजनीतिक पूर्वाग्रह राखेर हठात् हटाउने र आफ्नो कार्यकर्ताको भर्ती गर्ने कार्यभित्र सरकारको दुई तिहाइको दम्भ प्रष्ट देखिएको छ।’, विज्ञप्तिमा भनिएको छ।
सरकारको निर्णयको विरोध जनाउँदै युनियनले नियुक्ति खारेज भएकाहरुलाई पूर्ववत् काममा फर्काउन माग गरेको छ। बर्तमान सरकार सबै प्रकारका विचार, आस्था राख्ने आम नेपालीको सरकार नभई दल विशेषको मात्र सरकार भएको युनियनको ठहर छ।
मंगलबारको मन्त्रिपरिषद् वैठकबाट भाद्र १४ पछि तत्कालीन सरकारले गरेका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको नियुक्ति बदर गरेको थियो। पारिश्रमिक निर्धारण समितिका सदस्यहरु विमला भण्डारी र गोविन्द कोइरालालाई पनि हटाएइको थियो।
नेपाल टेलिभिजन सञ्चालक समिति सदस्यका रुपमा ट्रेड युनियनका प्रतिनिधि गोविन्द धिताल, राष्ट्रिय समाचार समितिमा कर्मचारी प्रतिनिधिका रुपमा सञ्चालक समितिमा रहेका सदस्य एकराज पाठकको नियुक्ति पनि बदर गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।