दमौली– आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा 'रामायण घर'को निर्माण कार्य तीव्र पारिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड रुपैयाँको लागतमा सो घर निर्माण हुन लागेको हो। भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण कार्य भइरहेको हो। हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए।
निर्देशक रानाभाटका अनुसार दुई तले सो भवनमा साहित्यिक कार्यक्रम गर्ने सभाहल, भवनको भित्तामा रामायणमा भएका श्लोक र रामायणसँग सम्बन्धित तस्वीर कुँद्ने योजना बनाइएको छ। भवन निर्माण हुन थालेपछि साहित्यिक पर्यटकको आवतजावत बढ्ने गरेको उनी बताउँछन्।
१० रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका संरचना निर्माण गर्ने गुरुयोजना बनाइसकिएको समितिका अध्यक्ष श्रीभक्त आचार्यले बताए।
उनले १९ करोड रुपैयाँको गुरुयोजना तयार गरिएको जानकारी दिए। चुँदीरम्घाबेँसीदेखि शिखर कटेरीसम्म पुग्ने करीब ३ किलोमिटर कच्ची मोटरमार्ग निर्माण गरिए पनि वर्षाका कारण हिलाम्मे हुँदा पर्यटकलाई आवतजावत गर्न समस्या पर्ने गरेको छ। सडक कालोपत्रका लागि सरकारसँग बजेट माग भइरहेको समितिका अध्यक्ष आचार्यले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।