काठमाडौं- इंग्ल्यान्ड २८ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको खेलमा स्विडेनलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो।
इंग्ल्यान्ड पछिल्लो पटक सन् १९९० मा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो।
अब सेमिफाइनलमा इंग्ल्यान्डले आयोजक रसिया र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
शनिबार इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी माग्युर र डेल अलीले १-१ गोल गरे।
माग्युरले ३० मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। पहिलो हाफमा १-० ले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफकाे ५९ मिनेटमा अग्रता दोब्बर पार्यो। जिसे लिङगार्डले उपलब्ध गराएको क्रसमा डेल अलीले हेडमार्फत गोल गरेका थिए।
खेलमा इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले दोस्रो हाफमा केही उत्कृष्ट बचाउ गरे। उनले मार्कोस बर्गले सिक्स यार्डबाट हानेको प्रहारलाई उत्कृष्ट बचाउ गर्दा स्विडेनले गोल फर्काउने अवसर गुमाएको थियो।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।