काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबार अपराह्न बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर घोषणापत्र मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो।
महामन्त्री गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘बैठकमा घोषणापत्रमा भएका मूल विषयवस्तुलाई महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभयो। त्यस सम्बन्धमा समितिका साथीहरुले आफ्नो सुझावहरु प्रस्तुत गर्नुभयो। र, त्यो सम्पूर्ण सुझावहरुलाई ध्यानमा राखेर मस्यौदा परिमार्जनसहित घोषणापत्र पारित गर्ने निर्णय गरियो,’ उनले भने।
त्यस्तै, बैठकले बन्दसूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्यसमितिलाई अनुमति पनि दिएको छ।
‘समानुपातिकतर्फ बन्दसूचीमा बसेकाहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने इच्छा देखाएकोले त्यो बन्दसूचीबाट हटाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता महतले भने।
बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको सहमतिबारे पनि जानकारी गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।