काठमाडौं– राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रम गरेर अध्यक्ष चित्रबहादुर केसीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन्।
‘२०७४ मा भएको स्थानीय तहको निर्वाचनले संविधानको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो। तर, आसन्न स्थानीय निर्वाचन विषम राजनीतिक परिस्थितिमा हुन गइरहेको छ। २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धि तथा संविधान खतरामा परेको छ,’ घोषणापत्रमा भनिएको छ।
निर्वाचनको माध्यमबाट बहुमत ल्याएर देशमा प्रतिगमन वा अधिनायकवाद लाद्न खोज्ने धारको गतिविधि तथा भूमिकाले पनि गणतन्त्रमाथि झनै खतरा पैदा गराएको उल्लेख गरेको छ।
‘प्रतिगमन वा अधिनायकवादका पक्षधर हरुलाई तलैदेखि परास्त गरेर नै जनताको स्थानीय स्वशासनको अधिकारको रक्षा गर्नुपर्ने आवश्यकता छ। देशको राष्ट्रियतामाथि पनि गम्भीर खतरा उत्पन्न भएको छ। मुलुकको उपयुक्त परिस्थितिमाथि ध्यान दिएर नै राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित चुनावमा भाग लिने निर्णय गरेको छ,’ घोषणापत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।