काठमाडौं– नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ।
दुवै पार्टीबीच देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको हो।
राप्रपाका उम्मेदवारले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने पनि सहमति जुटेको छ।
चुनावी तालमेलका सन्दर्भमा एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति समेत भएको छ। सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचाल विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
दुवै पार्टीबीच भएको सहमतिमा तालमेलको विषयमा छलफल तथा सहकार्यका लागि प्रस्ताव तयार गर्ने अधिकार जिल्ला कमिटीलाई दिइएको छ। जिल्ला कमिटीले सिफारिस गरेको आधारमा पार्टीको केन्द्रीय तहको अनुमतिपछि तालमेलको सहमति कार्यान्वयन हुने सहमतिमा उल्लेख छ।
राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्ने, र निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आबद्ध रहने पनि सहमतिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।