चितवन- भरतपुर महानगरपालिकाका कांग्रेसका २५ वडा सभापतिहरुले स्थानीय तहको निर्वाचनमा मेयर प्राप्त नगरे सबै उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।
२९ वडामध्ये २५ वडा सभापतिहरुले स्थानीय तहको चुनावमा कांग्रेस गठबन्धन नगरी एकल रुपमा जानुपर्ने माग जिल्ला सभापति राजेश्वर खनालमार्फत केन्द्रीय सभापतिलाई बुझाएका छन्।
मंगलबार कांग्रेस पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिहरुको भेलाले महानगरमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने निर्णय गरेको हो। भनिएको छ, 'कांग्रेस यो निर्वाचनमा एक्लै चुनावमा जानुपर्छ। गठबन्धन गर्न आवश्यक छैन। भरतपुर महानगरपालिकामा कांग्रेस एकल रुपमा चुनाव जित्न सक्षम छ।'
निर्णय हस्तान्तरण गर्दै वडा सभापतिहरुले महानगरभित्र गठबन्धन गरिए सबै उम्मेदवारहरुलाई बहिष्कार गरेर जाने चेतावनी समेत दिएका छन्। उनीहरुले मेयर र उपमेयर मात्रै होइन, वडाध्यक्षमा समेत गठबन्धन स्वीकार्न नसकिने बताएका छन्।
सत्ता गठबन्धनको भागबन्डामा भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रले प्राप्त गर्ने सम्भावना बलियो छ। स्थानीय कांग्रेस नेताहरु भने यसको विपक्षमा मत राख्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।