पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गण्डकी प्रदेशको विकासमा आफुले कुनै कन्जुस्याइँ नगरेको बताएका छन्। उनले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको भविष्य सुनिश्चित भएकाले लगानी गर्नसमेत प्रोत्साहन गरिरहेको जानकारी दिए।
पर्यटन पत्रकार मञ्चले आज पोखरामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘मैले जति काम गरेको छु त्यसैमा खुसी छु। तर यतीले मात्रै पर्याप्त गर्न सक्यौं भन्ने होइन।’ उनले गण्डकी प्रदेशलाई धुलो, धुवाँ र ध्वनिरहित बनाउनुपर्ने धारणा राख्दै मन्त्री अधिकारीले नेपालमा सडक र प्रदुषणले पर्यटन क्षेत्रमा समस्या पारेको हुनाले त्यसको हल खोज्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे।
मन्त्री अधिकारीले स्थानीय तहले आफ्नो काम नगरेर केन्द्र सरकारमाथि नै औंला ठड्याइरहेको आरोप लगाए। ‘अधिकार क्षेत्रभित्र रहनेगरी स्थानीय सरकारले आफ्ना कामहरु आँफै गर्नुपर्छ।,’ उनले भने। प्रदेशमा निर्माण भइरहेका गौतम बुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलले पर्यटक भित्र्याउन सहयोग पुग्ने अधिकारीको विश्वास छ।
कार्यक्रममा पूर्वपर्यटन सचिव किशोर थापाले ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै गण्डकी प्रदेशमा पोखरालाई मात्र पर्यटकीय क्षेत्रको रुपमा हेर्न नहुने तर्क गरे। थापाले प्रदेशका अन्य पर्यटकीय सम्भावनाहरुको पनि खोजि गरिनुपर्नेमा जोड दिए।
‘पोखरा आँफैमा अन्तर्राष्ट्रिय ब्रान्ड भैसकेको छ,’ उनले भने, ‘अब हामीले पोखराको हाँगा फैलाएर तनहुँ, लमजुङ, गोरखा, बागलुङ, नवलपरासीलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ।’ कास्की बाहेकका अन्य जिल्ला तुलनात्मक रुपमा पछाडि रहेकाले ती जिल्लाको स्तरोन्नती गर्नुपर्ने उनको भनाइ थियो।
कार्यपत्रमाथि टिप्पणी राख्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकार र पर्यटन व्यवसायीले पर्यटन प्रर्वद्धनमा धेरै काम गरेतापनि पर्याप्त नभएको धारणा राखे। नेपालमा अथाह सम्भावना भएर पनि उचित प्रचार र सरकारी नीतिका कारण सबै अलपत्र परेको उनको तर्क छ।
अर्का टिप्पणीकार जुद्द गुरुङले अव्यवहारिक योजनाहरुले नेपालको पर्यटनलाई हानि पुगेको दाबी गरे।
गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष र केन्द्र सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरिसकेका छन्। यस्तो अवस्थामा निर्माण भइरहेका विमानस्थल, भौतिक पूर्वाधार तथा सरकारी नीतिमा सुधार गर्न कार्यक्रमका वक्ताहरुले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।