चितवन– सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले दाबी गरिरहेको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका आकांक्षी २५ पुगेका छन्।
नेपाली कांग्रेसको भरतपुर महानगर समितिले मागेको आवेदनका लागि मेयरमा २५ र उपमेयरमा २४ ले दाबी गरेका हुन्।
मेयरमा दाबी गर्नेमा कांग्रेस केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला, बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठ, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगर पूर्वसभापति भरत अधिकारी, पूर्वजिल्ला कोषाध्यक्ष शंकर कँडेल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी पनि रहेका छन्।
नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दीर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडी पनि मेयरका आकांक्षी छन्।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन हुँदा मेयर माओवादीले पाएको थियो। माओवादी केन्द्रबाट मेयर बनेकी प्रचण्डपुत्री रेणु दाहाल दोहोर्याउने तयारी गरिरहेकी छिन्। महानगर भागबन्डामा चितवन माओवादी केन्द्रको भागमा पर्ने सम्भावना प्रवल छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।