राजविराज– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विकृत मानसिकता बोकेर आधुनिक र सभ्य समाज निर्माण हुन नसक्ने भन्दै मानसिकता परिवर्तन नगरे सप्तरीको पनि विकास नहुने बताएका छन्।
सप्तरी उद्योग वाणिज्य संघले शनिबार राजविराजमा आयोजना गरेको छलफल कार्यक्रममा स्वास्थ्य, शिक्षा, सडक, बिजुली, पानी, पुल, बाँध लगायत हरेक क्षेत्रमा सप्तरी पछाडि परेकाले द्रुत गतिमा विकास–निर्माणका काम अघि बढाउन व्यापारी/व्यवसायीहरुले माग गरेपछि यादवले यस्तो बताएका हुन्।
मन्त्री यादवले गुणस्तरीय शिक्षा र स्वास्थ्य, महिला सशक्तिकरण तथा लागूऔषध र मदिराबाट समाजलाई मुक्त गराउँदै पुरातनवादी मानसिकताबाट बाहिर निस्कन सके मात्र समाजको विकास हुने बताए।
‘सप्तरीको विकास सम्भव छ, तर पुरानो विकृत मानसिकता त्याग्नुपर्छ’, उनले भने, ‘केही बिगार्न÷भत्काउन पाइँदैन, तर विकास चाहियो भन्दैमा सम्भव हुँदैन।’
सप्तरीमा जातीय विद्वेष चरम उत्कर्षमा रहेको भन्दै मन्त्री यादवले यस्ता विकृतिको अन्त्य नभएसम्म विकासको गति अघि बढ्न नसक्ने दाबी गरे। विकास र समृद्धिका काममा महिला सहभागिता अनिवार्य सर्त भएको पनि उनले बताए।
‘जहाँ महिलालाई अर्धबन्दी बनाएर राखिन्छ, त्यहाँ विकासको गति कसरी अघि बढ्छ?’ उनले भने, ‘समृद्धिको यात्रामा जबसम्म महिलालाई सँगै अघि बढाइँदैन, तबसम्म कुनै पनि काम पूर्ण हुँदैन।’
खाँडोको बाँध निर्माण, सगरमाथा अञ्चल अस्पतालको प्रसूति गृह, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्राबास लगायतका भौतिक संरचना स्थानीयवासीको अवरोधकै कारण अघि बढ्न नसकेको प्रस्ट पार्दै मन्त्री यादवले प्रश्न गरे, ‘हरेक काममा अवरोध मात्रै गर्ने, काम गर्नै नदिने हो भने कसरी हुन्छ विकास?’
यादवले कहिले तिलाठी, कहिले सकरपुरा र कहिले बेलहीको झगडाले खाँडोको काम प्रभावित भएको भन्दै थपे, ‘घर–गाउँ डुबे डुबोस्, आफ्नो जुँगाको लडाइँ छोड्नु हुन्न भन्ने मानसिकता विकासको बाधक हो।’
आफू पढेको वभनगामाकट्टिस्थित लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि पैसा दिए पनि उपभोक्ता समिति गठनमै मारामार सुरु भएको सन्दर्भ जोड्दै मन्त्री यादवले भने, ‘विकासका नाममा अब त यो गाउँ र त्यो गाउँबीच झगडा होला भन्ने पीर भो।’
राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा सुविधासम्पन्न अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको र अन्य काम पनि प्रक्रियामा रहेको जानकारी दिँदै ‘यो काम पनि पूरा हुन्छ कि हुँदैन, चिन्ता सुरु भएको’ भन्दै व्यंग्य गरे।
डा केसीलाई आग्रह- मिलेर समस्या समाधान गर्न डा गोविन्द केसीलाई आग्रह
स्वास्थ्य मन्त्री यादवले डा गोविन्द केसीको मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। उनले सँगै मिलेर सबै समस्या हल गरेर अगाडि बढ्न डा केसीसँग आग्रह गरे।
चिकित्सा शिक्षा सुधार लगायतका ७ बुँदे माग राख्दै डा केसी असार १६ गतेदेखि जुम्लामा आमरण अनसन बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।