काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दाङका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ।
घोराहीमा सम्पन्न पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेसका सभापति शङ्कर डाँगीले जानकारी दिए।
पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाको चुनावी प्रतिवेदन तयार पारी पठाएको छ। प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १ सय वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थितिबारेमा चित्रण गरी प्रतिवेदन पठाएको पनि नेपाली कांग्रेसका सभापति डाँगीले जानकारी दिए।
सो बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुवास पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्मा उपस्थित थिए।
यता नेकपा (एमाले)ले भने जिल्लाका सबै वडामा एकलरुपमा चुनावी मैदानमा उत्रने जनाएको छ । एमालेले आजदेखि वडास्तरका उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।