रसिया भर्सेस क्रोएसिया
समय – असार २३ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ विश्वकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आज मध्यरातमा आयोजक रसिया र क्रोसिया भिड्दैछन्।
दुवै टिमले अन्तिम १६ को खेलमा कठिन जित हात पारेका थिए। पेनाल्टी सुटआउटमार्फत अन्तिम ८ मा स्थान पक्का गर्ने क्रममा रसियाले सन् २०१० को विजेता स्पेन तथा क्रोएसियाले डेनमार्कलाई हराएका थिए।
प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेपनि क्रोएसियाले डेनमार्कविरुद्ध राम्रो खेल देखाउन सकेन। डेनमार्क र क्रोएसियाले सुरुवाती ५ मिनेटमा दुई गोल गरेका थिए। त्यसपछिका १ सय १५ मिनेट दुवैतर्फबाट गोल नहुन सकेन। अब क्रोएसियाको चुनौती रसियाविरुद्ध फिनिसिङमा चुस्त हुनु पर्ने देखिन्छ।
स्पेनलाई पराजित गर्दै इतिहास बनाएपछि रसिया अझै अघि बढ्न चाहन्छ। क्रोसियाविरुद्धको खेलका लागि पूर्ण केन्द्रीत रसियाले कडा परिश्रम गरिरहेको छ। लेफ्ट विंगर युरी हिर्भोक क्रोएसिया विरुद्ध खेल्नेछैन। जसले रसियालाई अप्ठ्यारो पर्नेछ।
सन् १९९८ मा सेमिफाइनलमा पुगेको क्रोएसिया इतिहास दोहोर्याउने लक्ष्यमा छ। समूह चरणमा प्रभावशाली खेल पस्केको क्रोसियाले नाइजेरिया, अर्जेन्टिना र आइसल्यान्डलाई पराजित गरेको थियो। अन्तिम १६ मा डेनमार्कविरुद्ध खस्किएको क्रोएसिया लयमा फर्कन चाहन्छ। अर्कोतर्फ रसिया भन्दा बलियो मानिएको क्रोएसियालाई अन्तिम ८ को खेल सहज हुने ठानिएको छ।
क्रोएसियाले आयोजक देशसँग खेल्न लागेको यो तेस्रो पटक हो। यसअघि दुवै पटक क्रोएसियाले आयोजकसँग हार बेहोरेको थियो। सन् १९९८ को सेमिफाइनलमा क्रोएसियालाई फ्रान्सले ३–१ ले हराएको थियो। सन् २०१४ मा पनि उद्घाटन खेलमा ब्राजिलले क्रोएसियालाई ३–१ ले पराजित गरेको थियो।
सम्भावित टिम
रसिया – इगोर अकिनफीभ, मारियो फर्नान्डेज, इया कुटेपोभ, सेर्जे इनाशेभिच, फेडोर कुर्द्यासोभ, रोमान जोब्निन, डलेर कुज्एभ, एलेक्जेन्डर समेडोभ, एलेक्डेर गोलोभिन, डेनिस चेरिसेभ, अर्टिम जुवा
क्रोएसिया – नाडिजेल सुवासिक, सिमे भर्लाल्को, डेजन लोभ्रेर, डोमागोज भिडा, इभान स्ट्रिनिक, इभान राकिटिक, मार्सेलो ब्रोजोभिक, एन्टै रेबिक, लुका मोड्रिक, इभान पेरिसिक, मारियो मान्जुकिक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।