काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले पार्टीका उम्मेदवार तय गर्न थालेको छ। महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार तय गर्ने क्रम सुरु भइसकेको छ।
एमालेले आइतबार ललितपुर, भरतपुर महानगरपालिको मेयर र उपमेयरको उम्मेदवार तय गरेको छ। त्यस्तै, जनकपुर उपमहानगरपालिकाको मेयरको पनि एमालेले टुङ्गो लगाएको छ।
ललितपुरमा २०७४ सालको निर्वाचनमा पराजित भएका हरिकृष्ण ब्यञ्जनकारको नाम सिफारिस भएको छ। उपमेयरमा २ जना (मञ्जरी शाक्य ‘आस्था’ र सरस्वती खड्का)को नाम सिफारिस भएको छ।
भरतपुर महानगरपालिका विजयी सुवेदीको नाम सिफारिस भएको छ। उनी बागमती प्रदेश सभाका सदस्य (सांसद) हुन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएका देवी ज्ञवाली भने पछि हटेका छन् ।
त्यस्तै जनकपुर उपमहानगरमा मेयरका लागि एमालेले शिवशंकर साहको नाम सिफारिस गरेको छ। नगर कमिटिले साहको मात्र नाम सिफारिस गरेको हो।
सुनसरीको धरान उपमहानगरमा भने विवाद भएपछि आकांक्षी सबैको नाम सिफारिस भएको छ। धरानमा उपप्रमुख मञ्जु भण्डारीसहित ११ जनाको नाम सिफारिस गरिएको हो । धरानको उपप्रमुखमा ६ जनाको नाम नगर कमिटीले सिफारिस गरेको हो।
देशभरका ६ महानगर र ११ उपमहानगरमा सकेसम्म सर्वसम्वत रुपमा नाम टुङ्गो लगाउने एमालेको तयारी छ। पोखरा, काठमाडौं र विराटनगरमा एमालेका धेरै आकांक्षी देखिएका छन् । त्यस्तै, वीरगञ्ज महानगरपालिकामा नवप्रवेशी विजय सरावगी वा पार्टीको अन्यलाई दिने विषयमा छलफल चलिरहेको एमाले नेताले जनाएका छन्।
पोखरामा हालका मेयर मानबहादुर जीसी आफैं आकाक्षी रहेका छन् भने विराटनगरमा गत वर्ष नेपाली कांग्रेसले जितेकाले यस वर्ष जित्ने उम्मेदवार उठाउनुपर्ने दबाब छ। विराटनगरको मेयरमा पूर्वमन्त्री लालवावु पण्डितको पनि दाबी छ। पार्टीले जिम्मेबारी दिएमा आफू मेयरमा प्रतिस्पर्धा गर्न तयार रहेको पण्डितको भनाइ छ।
एमालेबाट काठमाडौं महानगरपालिकामा पनि मेयरका आकांक्षी धेरै छन्। हालका मेयर विद्यासुन्दर शाक्य दोहोरिने पक्षमा छन् भने पूर्वमेयर केशव स्थापित पनि टिकट हात पार्न दौडधुपमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।