काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्यदल गठन गरेको हो। नेताहरुर बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदललाई ३ दिनभित्र नियमावली प्रकाशन हुनेगरी अन्तिम रुप दिने कार्यादेश दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बिहीबार अपराह्न बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो। स्थायी समिति बैठकमा नेताहरुले दिएको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिनेगरी कार्यदल गठन गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए।
कार्यदलले तयार पारेको सुझावसहितको नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर सोही दिन प्रकाशनका लागि पठाउने निर्णय पनि गरिएको छ।
पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पनि मंगलबार नै सचिवालयको बैठक बोलाउने निर्णय पनि गरेको छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै ल्याउन र आफू नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्ने सरकारको निर्णय फिर्ता नलिए सडक र सदन दुवै मोर्चाबाट सरकारको विरोध गर्ने चेतावनीसहितको प्रदर्शन गर्दै आएको छ। सोही सम्बन्धमा पार्टीभित्र समान धारणा तय गर्न मंगलबार पुनः सचिवालय बैठक बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।