काठमाडौं– नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
आइतबार सम्पन्न भएको केन्द्रीय सचिवालयको २०औं बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो। समितिमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहाकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवम् सदस्यहरु, केन्द्रीय परिषद् सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष जनसंगठनका केन्द्रीय पदाधिकारी रहने छन्।
यस्तै, महासचिव वेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन भएको छ। उक्त समितिमा प्रकाश ज्वाला, गंगालाल तुलाधार, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन्।
बैठकले निर्वाचन घोषणा पत्र २०७८ पनि पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।