काठमाडौं– नेकपा एमालले ललितपुर महानगरपालिकाको मेयर पदका लागि हरिकृष्ण व्यञ्जनकारलाई अघि सारेको छ। उनको नाम सर्वसम्वत रुपमा सिफारिस भएको ललितपुरका एमालेका एक नेताले बताए।
सत्ता गठबन्धनले उम्मेदवारबारे निर्णय गर्न नसकेका बेला एमालेले भने २०७४ सालको निर्वाचनमा थोरै मतले पराजित भएका व्यञ्जनकारलाई अघि सारेको हो। उपमेयरमा भने दुई जनाको नाम सिफारिस गरेको छ। उपमेयरमा मञ्जरी शाक्य आस्था र सरस्वती खड्काको नाम सिफारिस भएको ललितपुर एमालेले जनाएको छ।
देशभरका ६ महानगरमध्ये ललितपुर तुलनात्मक रुपमा नेपाली कांग्रेस नै बलियो रहेकाले सत्तारुढ दलभित्र कांग्रेसले दाबी गरिहेको छ। उक्त क्षेत्रमा एमाले र कांग्रेसको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। अघिल्लो पटक नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु मर्हजनले ३२९ मतले व्यञ्जनकारलाई पराजित गरेका थिए। यस पटक उनलाई उक्त पराजयको बदला लिने अवसर पार्टीले उपलब्ध गराएको ललितपुर एमालेका एक नेता बताउँछन्।
गठबन्धन भएको अवस्थामा नेपाली कांग्रेसले अहिलेका मेयर चिरिबाबु मर्हजनलाई नै दोहोर्याउने तयारी गरिरहेको छ। ललितपुरमा चिरिबाबुबाहेक कांग्रेसबाट प्रेमकृष्ण मर्हजन र प्रेमलाल मर्हजन दाबेदारको रुपमा देखिएका छन्। उनीहरु २०७४ सालको निर्वाचनमा पनि टिकटको दाबेदार रहेका थिए।
ललितपुर महानगरपालिमा नेवार समुदायका बढी मतदाता रहेका छन्। २०४९ मा ललितपुरमा कांग्रेसले जितेको थियो भने २०५४ मा एमालेले जितेको थियो। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो।
प्रतिनिधिसभा तर्फ २०६४ मा तीनै क्षेत्र माओवादीले जितेको थियो भने २०७० मा तीनैओटै क्षेत्र कांग्रेसले जित्यो। २०७४ सालमा २ क्षेत्र नेकपा एमालेले र एउटा क्षेत्र माओवादी केन्द्रले जितेको थियो। तत्कालीन समयमा वामगठबन्धन बनाएर निर्वाचनमा प्रतिस्पर्धा भएको थियो।
अघिल्लोपटक कांग्रेसका मर्हजनले २४ हजार ६४२, एमालेका व्यञ्जनकारले २४ हजार ३१३ मत पाएका थिए। त्यस्तै माओवादीका दिनेश मर्हजनले १० हजार ६६१ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।