काठमाडौं– नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहिताप्रति निर्वाचन आयोगलाई धारणा बुझाएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा बिहीबार आयोग पुगेको प्रतिनिधिमण्डलले निर्वाचन आचारसंहिताप्रति प्रतिबद्धतासहित पार्टीको धारणा लिखित रुपमा बुझाएको हो।
एमालेले आचारसंहिताको दफा ४ को उपदफा (थ) मा भएको व्यवस्थाप्रति असहमति जनाएको छ। दफा ४ को उपदफा (थ) मा भएको प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्त गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेद्वार स्वयंलाई प्रचार गर्न निषेध गरेको देखिएको एमालेको तर्क छ।
आचारसंहिताको दफा ४ को उपदफा (थ)मा 'निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने,' भन्ने व्यवस्था गरिएको छ।
आचारसंहिताको उक्त प्रावधानले दलहरूका विचार, नीति, कार्यक्रमको तुलना गरी श्रेष्ठतम् दल रोज्ने जनताको संवैधानिक हकलाई समेत कुण्ठित गर्ने एमालेको जिकिर छ। एमालेले उक्त प्रावधानमा पुनर्विचार गरिनुपर्ने समेत बताएको छ।
यस्तै, प्रधानमन्त्री, मन्त्री तथा कुनै पनि तहको कार्यपालिकाको सदस्यले आफ्नो निर्वाचन क्षेत्रबाहेक कुनै दलको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन नपाउने भन्ने आचारसंहिताको प्रावधान पनि अनुपयुक्त भएको एमालेले आफ्नो धारणामा उल्लेख गरेको छ।
निर्वाचन आयोगले चैत २२ गते स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुलाई आचारसंहितामा प्रतिबद्धता जनाउन 'बैठक' बोलाएको थियो। उक्त बैठकमा सहभागी भएपनि एमालेले आचारसंहिताको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको थिएन।
केही दलहरुले आचारसंहिताप्रति आफूहरुको दृष्टिकोण राख्न पाउनुपर्ने लगायत विषय उठाएर कार्यक्रममा विवाद भएको थियो। विवादका बीच बैठकको माहोल तनावपूर्ण अवस्थामा आफ्नो धारणा राख्न नमिलेको भन्दै एमालेले महासचिव पोखरेलको हस्ताक्षरमा बिहीबार आयोगमै पुगेर आफ्नो धारणासहितको प्रतिबद्धतापत्र बुझाएको हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।