कैलाली- कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका ५ जनालाई शुक्रबार सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विनोद घिमिरेले युवतीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिए।
असार १२ गतेदेखि हराइरहेकी विकलाई उनका आफन्त र प्रहरीको प्रयासमा खोजतलास गर्दा चपरथली सामुदायिक वन क्षेत्रमा तीन दिनपछि मृत फेला पारिएको हो।
'तीन जनाले पालैपालो करणी गरिसकेपछि चौथोले करणी गर्दैगर्दा उनले प्राण त्याग गरेको अनुसन्धानबाट खुलेको देखिन्छ,' प्रहरी उपरीक्षक घिमिरेले भने, 'घटनाअघि असार ८ गते मुख्य योजनाकार गणेश बडुवालले युवतीसँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेकामा युवतीले अस्वीकार गरेकी थिइन्।'
दुई हात बाँधिएको, मुखमा कपडाले बाँधिएको र निर्वस्त्र अवस्थामा युवतीको शव फेला परेको हो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको साइकल र एक थान मोबाइल बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।