धनगढी– आगामी स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन आवद्ध कैलालीका पाँच दल चुनावी तालमेल गरेर अघि बढ्न सकारात्मक देखिएका छन्।
बुधबार नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालय कांग्रेस जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको बैठकमा चुनावी तालमेलबारे दलहरुबाट सकारात्मक धारणा व्यक्त गरिएको हो। नेकपा (एकीकृत समाजवादी) कैलालीका उपाध्यक्ष तथा वार्ता समूहका सदस्य विमल जोशीले दलहरू गठबन्धनप्रति प्रतिबद्ध रहने बताए।
बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रका कुनै पनि पदाधिकारीहरु सहभागी नहुँदा गठबन्धनबारे निर्णय हुन नसकेको जनाइएको छ।
आउँदो २५ गते २ बजे पुनः पाँचदलीय गठनबन्धको बैठक बस्ने सहमति भएको कांग्रेस कैलालीका सचिव केशव मिश्रले बताए। '२५ गते हुने बैठकमा सबै दलले आफ्नो तयारी अन्तिम चरणमा पुर्याउने सहमति भएको छ’, उनले भने।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, कैलाली इन्चार्ज एवं प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, जिल्ला अध्यक्ष भैरव सिंह रावल, उपाध्यक्ष विमल जोशी, सचिव खडक रावत, उपसचिव दीर्घ जोशी, नेपाली कांग्रेसको तर्फबाट कैलालीका सभापति नारायणदत्त भट्ट, केन्द्रीय सदस्य नृपबहादुर वड, जिल्ला उपसभापति भीम बडुवाल, सचिव केशव मिश्र लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।