काठमाडौं– नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाव दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वरिष्ठ चिकित्सक केसीका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाव दिन शुक्रबारबाटै लागू हुनेगरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै संसदमा ल्याउन र वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै आफूहरुले सरकारलाई दबाव दिन आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिए।
आन्दोलनको कार्यक्रम अनुसार शुक्रबारबाटै देशभरका सबै चिकित्सकहरुलाई कालोपट्टी बाँधेर काम गर्न आह्वान गरिएको छ। अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई आइतबार ज्ञापन पत्र बुझाउने पनि जानकारी दिए।
संघले डाक्टर केसीसँग विगतमा गरिएका सहमति ७२ घण्टा भित्र सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ। विगतका सरकारले वरिष्ठ चिकित्सक केसीसँग पटक–पटक गरेको सहमति ७२ घण्टा भित्र सम्बोधन नभए आफूहरु दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने पनि अध्यक्ष श्रेष्ठले बताए।
चितवनका डाक्टरले बनाए मानव सांग्लो
यसैबीच डा केसीको मागप्रति समर्थन जनाउँदै चितवनका चिकित्सकहरुले प्रदर्शन गरेका छन्। अनशनरत डा केसीको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाल चिकित्सक संघ चितवन शाखाको अगुवाइमा भरतपुर अस्पताल परिसरमा आज चिकित्सकले प्रदर्शन गरेका हुन्।
चिकित्सक तथा स्वास्थयकर्मी सहितको टोलीले डा केसीको स्वास्थ्य सुरक्षाको कामनासहित मानव सांग्लो बनाएका थिए। डा केसीको माग पुरा गराउन दबावस्वरुप कार्यक्रम गरिएको संघका सचिव डा भोजराज अधिकारीले बताए। चिकित्सक संघको केन्द्रीय कार्यक्रम तय भएअनुसार आन्दोलन गर्ने भन्दै जिल्लामा दिनहुँ प्रदर्शन गर्ने जिल्ला अध्यक्ष डा प्रकाश खतिवडाले जानकारी दिए।
डा केसीमाथि सरकारले अन्याय गरेको भन्दै माग पूरा गरेर चिकित्सा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन चिकित्सकहरुले आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।