काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न सबै तहमा समिति गठन गर्ने निर्णय गरेको छ।
पार्टी प्रवक्ता प्रकाशशरण महत नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको मंगलबार बसेको बैठकले पार्टीको संरचनाअन्तर्गत सबै तहमा प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको हो।
पार्टीको संरचनाअन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाइ समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
बैठकले पार्टीका उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण भातृ तथा सुभेच्छुक संस्थाले पनि आफ्ना सबै तहका संरचनामा प्रचार प्रसार समिति गठन गर्ने निर्णय समेत गरेको छ।
बैठकले प्रचार प्रसार समितिअन्तर्गत विभिन्न ५ वटा समिति समेत गठन गरेको छ। त्यस्ता समितिमा पार्टी निकट पत्रकार (सञ्चारकर्मी)हरुलाई समेत संयोजक तोकिएको छ।
बैठकले हरिरहर विरहीको नेतृत्वमा प्रचार प्रसार सल्लाहकार समिति, विष्णु निष्ठुरीको नेतृत्वमा अनलाईन मिडिया समन्वय तथा प्रचारप्रसार समिति, किरण पोखरेलको नेतृत्वमा छापा माध्यम समन्वय तथा प्रचारप्रसार समिति, अनिता बिन्दुको नेतृत्वमा टेलिभिजन समन्वय तथा प्रचार प्रसार समिति र गोपाल झाको नेतृत्वमा रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समिति गठन गरेको हो।
यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा थप दुई सदस्य मनोनित गरेका छन्। देउवाले पार्टी केन्द्रीय सदस्य सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघलाई समितिको सदस्यमा मनोनित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।