काठमाडौं- सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि गठबन्धनको प्रारुप तय नभएसम्मका लागि उम्मेदबारको नाम टुंगो नलगाउन निर्देशन दिएको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गर्ने मोडल हालसम्म तयार नभएकाले बडादेखि पालिका र नगरको टिकट पाउने व्यक्तिहरुको सूचीलाई अहिले रोक्न निर्देशन दिइएको बताए।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका बेला कांग्रेसले मौखिक रुपमा सर्कुलर जारी गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको पौडेलले बताए।
‘जे जति काम भएको छ त्यसलाई अहिले होल्ड राख्न भनेका छौं’उनले भने, ‘पार्टीको विधान अन्तर्गत सिफारिस गर्ने काम तोकिएको सिमाभित्र गर्ने तर, टिकट अन्तिम निर्णय गर्ने संसदीय वोर्डले वडाको टिकटमा नाम सार्वजनिक नगर्न भनेका छौं।’
वडाले पालिका, नगरले जिल्लामा पठाउने, आफूले बाँड्ने नाम होल्ड गरेर राख्न भनिएको उनको भनाइ छ। ‘अर्को सूचना नभएसम्म नेपाली कांग्रेसको टिकट फाइनल गर्ने कार्य अहिले टुङ्गाउने काम रोक्नुस् भनेको हो। विधान अनुसार अरु काम रोक्न पर्दैन' उनले भने ‘जस्तो वडाबाट तीन जनाको नाम पठाएको छ भने एक जनामात्र उम्मेदवार हो भनि नाम सार्वजनिक गर्नू भन्ने कुरा होल्डमा राख्नु भनेको हो।’
पार्टीले गठबन्धनबारे निर्णय गरेको र त्यसको अन्तिम खाका सार्वजनिक नगरेकाले यस्तो सर्कुलर गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।