काठमाडौं– ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ। आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने जनाएको छ।
आयोगले करिब २५ प्रतिशत जगेडासहित सो संख्यामा मतपत्र छाप्न लागेको हो। निर्वाचनका लागि देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम छन्।
आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ। आयोगका अनुसार मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ।
निर्वाचन आयोगले ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ। आयोगका अनुसार सबैभन्दा बढी मतपत्र काठमाडौंको हुनेछ भने सबैभन्दा कम डोल्पाको हुने छ।
आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ वटै जिल्लामा ७७ प्रकारका मतपत्र छपाइ गर्नेछ।
देशभरका स्थानीय तहमा प्रयोग हुने मतपत्रमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको चुनाव चिह्न रहनेछन्। अन्य चिह्न भने जिल्लामा रहेका दल र स्वतन्त्र उम्मेदवारका हुनेछन्।
यसैगरी, आयोगल एक लाख ८० हजार थान नमुना मतपत्र छापेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।