धनगढी- कांग्रेस सुदूरपश्चिम प्रदेशमा उम्मेदवारको टुंगो लगाउने संसदीय समिति गठन भएको छ। कांग्रेसको विधानमा उम्मेदवार छनोटका लागि चार तहका संसदीय समिति हुने भनिएको छ।
विधानको त्यही व्यवस्थाअनुसार प्रदेश कार्यसमिति गठन गरिएको हो। २१ सदस्यीय प्रदेश संसदीय समितिमा पदाधिकारी र ११ जना सदस्य छन्।
उक्त समितिमा सभापति वीरबहादुर बलायर, उपसभापति लोकराज अवस्थी, जनकराज चौधरी, महामन्त्री मेघराज खड्का, नरनारायण शाह ‘मनु’, कोषाध्यक्ष उत्तमबहादुर कडायत, सहमहामन्त्री, अम्बिका चलाउने, चिन्तामणि भट्ट र गोपालदत्त भट्ट रहेका छन्।
सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावल र राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र पदेन सदस्य बनेका छन्। अन्य सदस्यमा पदमबहनदुर शाही, मदन गिरी, गौरीसिह बोहोरा, कान्ता चन्द, पुष्प भट्ट, गणेश विष्ट, तिलकराज जोशी, झेली राना थारु, तेजबहादुर सुनुवार रहेका छन्।
नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ। विधानमा भनिएको छ, 'प्रदेश संसदीय समितिले प्राप्त नाममध्ये सहमति हुन सकेकोमा सहमति र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी उक्त निर्णय प्रदेश कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्नेछ।'
सम्बन्धित जिल्लाका केन्द्रीय कार्यसमितिका सदस्य र जिल्ला कार्यसमितिका सभापतिलाई सम्बन्धित जिल्लाको उम्मेदवारको निर्णय गर्दा प्रदेश संसदीय समितिको बैठकमा आमन्त्रण गर्नुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।