जाजरकोट– आउँदो वैशाख ३० गतेलाई तय स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलले जाजरकोटमा पनि तालमेल गर्ने भएका छन्। गठबन्धन आवद्ध चार दलले चुनावी तालमेलका लागि संयन्त्र समेत बनाउने भएका छन्।
जाजरकोटमा सक्रिय गठबन्धन आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेलको निर्णय भएको हो।
चार दलको बैठकपछि जारी संयुक्त वक्तव्यमा गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट ३ जनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने निर्णय भएको उल्लेख छ।
यसैगरी, पालिकास्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरि कुनै पनि गतिविधि सञ्चालन, अभिव्यक्ति सार्वजनिक नगर्न/नगराउन निर्देशन दिइएको छ।
पालिका तहमा पनि जिल्लाकै अभ्यास अनुरुप समन्वय बैठक अबिलम्ब आयोजना गरी त्यसको जानकारी माथिल्लो निकायमा गराउन भनिएको छ।
जाजरकोटमा तीन नगरपालिकासहित सात स्थानीय तह छन्। २०७४ को स्थानीय निर्वाचनमा एमालेले दुई नगरपालिका र एक गाउँपालिका, माओवादीले एक नगरपालिका र एक गाउँपालिका तथा कांग्रेसले दुई गाउँपालिकामा जितेको थियो।
एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीतर्फ केही वडाध्यक्ष लागेपनि पालिका प्रमुख/उप्रमुख भने समाजवादीतिर लागेनन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।