काठमाडौं– आउँदो स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी घोषणा गरेकी पूर्वमिस नेवाः सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्ने अजेण्डामा सुझाव मागेकी छन्।
उनले मेयर पदमा निर्वाचित भइ काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने आफ्नो सपनालाई मूर्त रुप प्रदान गर्न युवाहरुको भरपर्दो साथ, सहयोग र समर्थनको अपेक्षा गरेको बताएकी छिन्।
‘देशभरका ७५३ वटै स्थानीय तहमा यही वैशाख ३० गते एकैसाथ निर्वाचन हुँदैछ,’ उनले सार्वजनिक गरेको अपिलमा भनिएको छ, ‘उक्त निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने मैले यसअघि नै घोषणा गरिसकेको विदितै छ। यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौंको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ।’
उनले काठमाडौं आफूजस्ता लाखौँ युवाको भाग्य र भविष्य निर्माण गर्ने सहर भएको उल्लेख गरेकी छन्। उनले आफू यही सहरमा जन्मिएर, यहीँको माटोमा हुर्किएर धेरै कुरा सिक्ने अवसर पाएको पनि बताएकी छन्।
‘त्यसैले मैले यही माटोमा मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौंको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ’, उनले भनेकी छन्।
डंगोलले मुलुक समृद्ध बनाउन नयाँ सोंच र जोस भएका युवा आवश्यक रहेको पनि अपिलमा उल्लेख गरेकी छिन्। उनले युवाहरुका नूतन सोंच र योजनालाई समावेश नगर्ने हो भने आफ्नो चुनावी घोषणापत्र अधुरो बन्न सक्ने बताएकी छन्।
‘त्यसैले यो सहरको मात्रै होइन मुलुककै भाग्य र भविषय निर्माण गर्ने युवाहरुलाई साँस्कृतिक सहर काठमाडौंलाई थप समृद्ध बनाउने अठोटका लागि निर्माण गर्ने घोषणापत्रमा नविनतम् सोंच समावेश गर्न युवाहरुका नूतन योजनाका लागि यही अपिलमार्फत आग्रह गर्दछु,’ उनको अपिलमा भनिएको छ।
यस्तो छ उनको अपिल:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।