काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि रहेको दावी गरेका छन्।
अध्यक्ष दाहालले संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको जिकिर गरे। उनले महिलाको हक, अधिकारलाई सुनिश्चित गराउने दिशामा कुनै प्रगति नै नभएको भन्ने भनाइ सत्य नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
योगमाया सामाजिक आन्दोलन अभियानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले योगमाया जस्ता वीर–वीरांगनाहरुको योगदानबाट पाठ सिकेर अघि बढ्दै जाने प्रतिवद्धता पनि व्यक्त गरे। उनले राणाकालको कठोर समयमा पनि समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी योगमायालाई राष्ट्रिय विभूति बनाउन आफूले सक्दो पहल गर्ने घोषणा पनि गरे।
कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्काल योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरे। उनले योगमायाको योगदानको उच्च कदर गर्दै आफू नेतृत्वको सरकारले उहाँको योगदानलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक बजेटको समेत व्यवस्था गरेको पनि स्मरण गरे।
कार्यक्रममा बोल्दै महिला नेतृहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, डा डिला संग्रौलाले नेपालको सामाजिक र राजनीतिक जागरणको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा राणाकालमा समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी योगमाया न्यौपानेको व्यक्तित्वका बारेमा पनि चर्चा गरिएको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।