काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आव २०७९/८० बजेटमा कृषिको बजेट वृद्धि गर्न आग्रह गरेको छ। चालू आर्थिक वर्ष कृषिको बजेट ४५ अर्ब पाँच करोड १६ लाख रुपैयाँ रहेको छ।
आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमबारे अहिले कृषि मन्त्रालय छलफल गरिरहेको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यवसायीकरण गरी उत्थानशील अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न बजेट निर्माण गर्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ।
कृषि उपजको मूल्य शृङ्खलाबाट किसान कसरी लाभान्वित हुने विषयमा पनि छलफल गरी बजेट निर्माणको तयारी भइरहेको मन्त्रालयको भनाइ छ।
कृषि उत्पादनको विविधीकरण एवं विशिष्टीकरणमार्फत उत्पादकत्व अभिवृद्धि गरी नागरिकको खाद्य एवं पोषण अधिकार सुनिश्चित गरिने खालको बजेट निर्माण हुने मनत्रालयको भनाइ छ।
दूध, तरकारी, फलफूल, माछा, मासुलगायतका नाशवान् उपभोग्य वस्तुको उत्पादनस्थलदेखि नजिकको बजार केन्द्रसम्म सहज आपूर्ति कसरी गर्ने, त्यसमा किसानलाई कति सुविधा दिने, ढुवानीकर्तालाई कति अनुदान दिनेलगायतका विषयमा पनि छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।