पोखरा– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा कांग्रेसलाई ५८५ पालिका दिन तयार हुनुहुन्छ? भन्ने प्रश्न गरेका छन्। शनिबार पोखरामा प्रजातान्त्रिक विचार समाज कास्कीको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रचण्डले त्यसो गर्न तयार नहुने बताए।
'मैले सुनेको, प्रचण्डजीले शेरबहादुर देउवाजीलाई भेट्दा एउटा प्रस्ताव ल्याउनुभयो रे! जुनजुन पार्टीले जितेको छ, त्यो ठाउँमा त्यही पार्टीको नेतृत्व हुने भनेर', उनले भने, 'दोस्रो र पहिलो भएको पालिका जोड्यो भने ७५३ मा ५८५ वटा पालिकामा कांग्रेसको नेतृत्व हुन्छ। त्यति दिन उहाँ तयार हुनुहुन्छ? त्यो गर्न सक्नुहुन्छ, हिम्मत छ उहाँको?'
प्रचण्डले भरतपुरको लागि मात्रै सोचेर त्यस किसिमको प्रस्ताव ल्याएको कोइरालाको भनाइ छ। '५८५ वटा हामीलाई दिँदा उहाँलाई कति पर्छ? तयार हुनुहुन्छ। मलाई लाग्छ, उहाँ तयार हुनुहुन्न। खालि भरतपुरलाई दिमागमा राखेर मात्रै त्यसो भन्नुभएको हो', उनले भने।
त्यस्तै कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तालमेल गर्ने निर्णय गरेको भए पनि त्यसको कार्यान्वयन कठिन रहेको बताए। 'त्यो निर्णय कति कार्यान्वयन हुन्छ, हुँदैन, कसरी हुन्छ; अत्यन्त गाह्रो छ', उनले भने, 'किनभने विचारै नमिल्ने पार्टीसँग हामीले तालमेल गरेर अगाडि जानुपर्ने आवश्यकता छ। अत्यन्त गाह्रो छ। वडासम्म तालमेल गर्ने भनिएको छ। तर कसरी गर्ने?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।