ब्राजिल भर्सेस बेल्जियम
मिति– असार २२ गते, समय– राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुनुअघि सर्वाधिक गोल गर्ने टिम ब्राजिल हुने आँकलन गरिएको थियो। पाँच पटकको च्याम्पियन ब्राजिलले उत्कृष्ट गोल गर्ने अपेक्षा गरिएको थियो। टिममा सधैं स्टार खेलाडीको जमघट हुने भएकाले पनि ब्राजिल सदाबहार उपाधिको दाबेदार मात्र टिममा रुपमा लिने गरिएको छ।
जारी विश्वकपमा ब्राजिलले सोचे अनुरुपमा गोल गर्न सकेको छैन। ब्राजिलले अहिलेसम्म ७ गोल गरेको छ। बढी गोल गर्ने टिममो सूचीमा ब्राजिल पाँचौ स्थानमा छ। बढी गोल गर्ने टिमको शीर्ष स्थानमा रहेको बेल्जियमले ब्राजिलभन्दा ५ गोल बढी १२ गोल गरिसकेको छ। यद्यपि उसले ४ गोल खाएकाले गोलअन्तरमा आधारमा भने ब्राजिल र बेल्जियम उही स्थितिमा छन्।
शुक्रबार राति क्वार्टरफाइनलको खेलमा बढी गोल गर्ने टिम बेल्जियमविरुद्ध ब्राजिल भिड्दैछ। दुवै टिमको लक्ष्य उपाधि जित्ने भएकाले एक टिम आफ्नो यात्रामा एक कदम अघि बढ्दा अर्को टिम स्तब्ध हुँदै घर फर्कन बाध्य हुनेछ।
गोल कम गरे पनि ब्राजिलले पछिल्ला ३ खेलमा गोल खाएको छैन। जारी विश्वकपमा ब्राजिलले गोल नखाएको ३ सय १० मिनेट भइसकेको छ। ब्राजिलले पहिलो खेलमा स्विट्जरल्यान्डसँग गोल बेहोरेपछि रक्षापंक्तिमा धेरै सुधार गरेको छ। ब्राजिलको चिन्ताको विषय फरवार्डमा सन्तुलन मिलाउनु हुनेछ भने अनुशासित खेल्नु अर्को चुनौती हुनेछ।

बेल्जियमले आफू विश्वकपको दाबेदार भएको प्रमाणित गरेको छ। रोमेलु लुकाकु र इडिन हजार्ड जुनसुकै बेला गोल गर्न सक्ने खेलाडी हुन्। ४ गोल गरिसकेका लुकाकु जारी विश्वकपमा बढी गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छन्। स्वर्णिम पुस्ताको बेल्जियम टिम अझै अघि बढ्न चाहन्छ। स्टार खेलाडीको जमघट भएकाले बेल्जियमले ब्राजिलसामु बलियो खेल देखाउनेछ। बेल्जियमका लागि विश्वकपमा लगातार ५ खेल जित्ने अवसर छ। त्योभन्दा ठूलो अवसर अन्तिम चारमा पुग्नु हुनेछ।
बेल्जियमका लागि जापानविरुद्धको खेल कठिन बनेको थियो। २ गोलले पछि परेर पनि ३ गोल फर्काएको बेल्जियमले ठूलो पाठ सिकिसकेको छ। जापानविरुद्ध सब्सिच्युटको रुपमा खेलेका फेलाइनी र चाड्ली ब्राजिलविरुद्ध पहिलो रोजाइमा पर्ने सम्भावना छ।

दुई टिमबीच विश्वकपमा अहिलेसम्म एकपटक प्रतिस्पर्धा भएको छ। सन् २००२ मा भएको अन्तिम १६ को खेलमा रिभाल्डो र रोनाल्डोको प्रेरणामा ब्राजिलले बेल्जियमलाई पराजित गरेको थियो। पछि ब्राजिलले फाइनलमा जर्मनीलाई पराजित गरेर उपाधि जित्यो। यसपटक ब्राजिलिय टिममा नेइमार र काउटिन्हो जस्ता उत्कृष्ट खेलाडी छन्। दुवैले जारी विश्वकपमा गोल गरिसकेका छन्। अब बेल्जियमविरुद्ध पनि उनीहरु तयार देखिएका छन्।
बेल्जियमविरुद्धको खेलका लागि ब्राजिलले कडा मेहनत गरेको छ। टिममा कासेमिरो हुनेछैनन्। लगातार दोस्रो खेलमा पहेँलो कार्ड पाएका कारण उनीले बेल्जियमविरुद्धको खेल गुमाउँदैछन्। उनको स्थानमा फर्डिनान्डो खेल्ने अनुमान छ। बेल्जियमले नेइमारलाई कडा निगरानीमा राख्ने भएकाले ब्राजिलिय टिमका अन्य खेलाडीले फाइदा उठाउनुपर्ने देखिन्छ।
सम्भावित टिम
ब्राजिल : एलिन्सन, फाग्नर, थियागो सिल्भा, मिरान्डा, फिलिप लुइस/मार्सेलो, फर्डिनान्डो, पाउलिन्हो, विलियम, फिलिप काउटिन्हो, नेइमार, गाब्रियल जेसस
बेल्जियम : थिबाउट कोएटोइस, जान भेर्टोङघेन, भिसेन्ट कोम्पनी, टोबी एल्डरविरेल्ड, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, नासेर चाड्ली, थोमस मेउनियर, मरोउने फेलानी, इडिन हजार्ड, रोमेलु लुकाकु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।