काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको दाबेदार मानिएको ब्राजिलले समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १ गोल खाएको थियो। त्यसपछि लगातार जित निकालेको ब्राजिलले ६ गोल गरिसकेको छ।
तर पनि ब्राजिल रक्षांपक्तिमा अझै विश्वस्त हुन सकिरहेको छैन। शुक्रबार राति बेल्जियमसँग भिड्नुअघि ब्राजिललाई चिन्ता भनेको रक्षापंक्तिकै छ। किनकि बेल्जियम जारी विश्वकपका बढी गोल गर्ने टिम हो भने विश्वका नामी फरवार्ड र मिडफिल्डर बेल्जियमको टिममा छन्।
सहायक प्रशिक्षक क्लेबेर जाभियरले बेल्जियमसँग खेल्नुअघि रक्षापंक्तिलाई बलियो बनाउने ५ सूत्र प्रिम्याच पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन्। जाभियर सन् २०११ देखि मुख्य प्रशिक्षक टिटेका विश्वासिला पात्र हुन्।
क्षेत्र निगरानी
'हामी रक्षापंक्तिमा क्षेत्रको निर्धारण र निगरानी दुवै गर्छौ। खेलको दौरान र सेट पिससमा पनि बढी ध्यान दिन्छौं। यो आधार मात्र हो,' जाभियरले भने, 'क्षेत्र निगरानी र निर्धारण गर्दा हामीले आफ्नो स्वाभाविक खेल खेल्छौं। हामी प्रतियोगिताको अनुशासित खेल्ने टिम हौं।'
पूर्ण दबाब
'हाम्रो रक्षापंक्तिले विपक्षीलाई तीन तरिकाबाट दबाब दिन्छ। पूर्ण दबाब, मध्य दबाब र कम दबाब। विपक्षीले बल अघि बढाउँदा रक्षापंक्तिले खुलेर खेल्ने। मिडफिल्डमा बल पठाउने गर्छौं। हामी धेरैजसो समय पूर्ण दबाब दिनेछौं। मध्यम र कम दबाब दिन अलि व्यवस्थित हुनेछौं,' उनले भने।

रक्षा गर्ने तर आक्रमणमा उत्रने
'हामी खेल्ने बेला खेल्छौं र रोक्ने बेला रोक्नेछौं। तर जब विपक्षी हाम्रो पोस्टमा बल अघि बढाउँछ त्यही बेला हामी रक्षापंक्तिमा रोक्छौं र तत्काल आक्रमणमा उत्रन्छौं। डिफेन्ड गर्ने बेला हामीसँग अवश्य बल हुनेछ। त्यही बलमा हामी विपक्षी पोस्टमा उत्रनेछौं,' जाभियरले भने।
स्पष्ट रणनीति
जाभियरका अनुसार ब्राजिलले आफ्नो रणनीति विश्वकपमा लागि मात्र बनाएको होइन। धेरै लामो सयमदेखि ब्राजिल आफ्नो रणनीतिमा स्पष्ट छ। 'हामीले आफ्नो रणनीति धेरै समयअघि देखि बनाएका हौं। उत्कृष्ट टिम हुँदम यो रणनीति सफल भइरहेको छ। आफ्नो अवधारणाअनुसार खेल खेल्दा नजिता राम्रो आइरहेको छ। त्यसैले हामीले के गर्दैछौं भने कुरा सबै स्पष्ट छ र त्यही प्राप्त गर्न केन्द्रित छौं,' उनले भने।
सञ्चार शक्ति
'हामीले सबै खेलाडीलाई उनीहरुको कामबारे स्पष्ट भनेका छौं। जस्तो कि नेइमार आइतबार पिएसजीबाट खेलेर सोमबार राष्ट्रिय टिममा खेल्न आउँदैछन्, हामी उनलाई पहिले नै खेलको रणनीतिबारे मोबाइलमा सूचना पठाइसेका हुन्छौं। हामीले सबै खेलाडीलाई उनले गर्ने सक्ने काम र गर्नुपर्ने काम बारे पहिले नै स्पष्ट पारेका हुन्छौं, ' जाभियरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।